काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ रिट निवेदनमा आजदेखि प्रारम्भिक सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यी रिटमा प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गरी प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको छ।
अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाल लगायतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति बदर र संसद् पुनःस्थापनाको माग गर्दै रिट दिएका थिए।
भदौ २३–२४ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले संसद् विघटनको सिफारिस गरेकी थिइन्।
यस सिफारिसबमोजिम राष्ट्रपति पौडेलले भदौ २७ गते राति ११ बजेबाट प्रतिनिधिसभा विघटन गरेका थिए र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति समेत तोकेका थिए।

