काठमाडौँ । नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एरिकालाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको हो। उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।
एरिकाले सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्। यो नेपालका लागि उक्त सिरिजमा पहिलो पदक हो।
सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिप का लागि छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरेको थियो।
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले प्रशिक्षकहरूले खेलाडीलाई निरन्तर अद्यावधिक गर्दै अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने वातावरण बनाउनुपर्ने धारणा राखे। प्रशिक्षक श्रेष्ठले सम्मानले खेलाडीलाई प्रेरणा दिन्छ भने एरिकाले आगामी विश्व च्याम्पियनसिपका लागि तयारीमा रहेको बताइन्।
एरिकाको भनाइ अनुसार, “विश्व कराँतेमा नेपालप्रति राम्रो छाप बस्दै गएको छ।”

