काठमाडौँ, १२ कात्तिक — नेपाल र भारतबीच दुई ठूला अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी सम्झौता भएको छ। इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली प्रसारण लाइन निर्माणका लागि बुधबार नयाँ दिल्लीमा हस्ताक्षर गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाका सञ्जयकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
संयुक्त कम्पनीमार्फत निर्माण हुने दुवै प्रसारण लाइनमा नेपाल र भारत दुबै पक्षको इक्विटी रहनेछ। नेपाली भूभागमा प्राधिकरणको ५१ र भारतीय कम्पनीको ४९ प्रतिशत हिस्सा रहनेछ भने भारततर्फ उल्टो अनुपातमा लगानी हुनेछ।
करिब २० प्रतिशत सेयर पूँजी र ८० प्रतिशत ऋणमार्फत निर्माण गरिने यी परियोजनाको काम सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इनरूवा–पूर्णिया लाइन करिब २६ किलोमिटर नेपालमा र १०९ किलोमिटर भारतमा, भने लम्की–बरेली लाइन ३३ किलोमिटर नेपालमा र १८५ किलोमिटर भारतमा पर्नेछ।
परियोजनाबाट नेपाल–भारतबीचको विद्युत् व्यापार सुदृढ हुने, जलविद्युत निर्यात बढ्ने र क्षेत्रीय ऊर्जा बजारसम्म नेपालको पहुँच विस्तार हुने मन्त्री घिसिङले बताए। भारतीय मन्त्री खट्टरले पनि यो परियोजना दुवै देशको आर्थिक वृद्धि र ऊर्जा सुरक्षाका लागि माइलस्टोन हुने टिप्पणी गरे।

