काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद गर्ने भएकी छन्। भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी आन्दोलनपछि पहिलो पटक यस्तो उच्चस्तरीय संवाद हुन लागेको हो।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनको वातावरण बनाउनका लागि सम्बद्ध पक्षहरूसँग निरन्तर वार्ता र छलफल गरिरहेकी छन्। सोही क्रममा आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीच निर्वाचन केन्द्रित त्रिपक्षीय बैठक बस्ने कार्यक्रम तय भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन र राजनीतिक सहमति जुटाउन पहिलो पटक यस्तो संयुक्त बैठक आयोजना गरिएको हो। “निर्वाचन सफल बनाउन सरकार, दल र जेनजीबीच समन्वयका चरणबद्ध छलफल भइरहेको छ,” मन्त्री खरेलले बताए।
यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गरेकी थिइन्। सो बैठकमा दलहरूले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिहरूसँग पनि निरन्तर सम्पर्क राख्दै राजनीतिक सहमति र चुनावी वातावरण निर्माणको पहललाई तीव्र पारेकी छन्। सरकारले निर्वाचन आयोगसँग पनि प्राविधिक तयारीबारे छलफल गर्दै निर्वाचनका पूर्वाधारगत तयारी अघि बढाएको छ।
निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकारभित्रका तयारी कार्य आरम्भ गरिसकेको र आयोग, सरकार तथा दलबीच नियमित समन्वय भइरहेको बताएको छ।

