काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका जलविद्युत् र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पना विषयक दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगमा प्रवेश गर्दैछ। जलविद्युत्को अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनमार्फत हामी दिगो रूपमा उर्जा क्षेत्रलाई थप ऊर्जायुक्त बनाउन सक्छौं।”
उनले नेपालका मित्र राष्ट्र र विकास साझेदारलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्दै थपे, “नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस्, सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।”
सम्मेलनमा ‘विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश)का लागि मार्गचित्र’ विषयमा मुख्य वक्ताका रूपमा बोल्दै मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोत भएको बताए।
उनका अनुसार, नेपालको जलविद्युत् यस क्षेत्रको लचिलो र स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत हो। उनले नेपालले स्वच्छ ऊर्जामार्फत क्षेत्रीय सहकार्य र साझा समृद्धिको नयाँ ढोका खोलेको पनि उल्लेख गरे।

