काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार यूएईविरुद्ध ४ विकेटले जित हात पार्दै अमेरिकाले अंकतालिकाको शीर्षस्थानमा आफ्नो पकड झन् बलियो बनाएको हो ।
मंगलबारको खेलमा यूएईका पाँच खेलाडीले डेब्यु गरेका थिए । टस जितेर फिल्डिङ रोजेको अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
ओपनर आर्यन्श शर्मा र अलीशान शराफु सुरूवाती दुई ओभरमै आउट भएपछि घरेलु टोली दबाबमा पर्यो । त्यसपछि मोहम्मद शाहदादले ३४ र कप्तान राहुल चोप्राले ३६ रनको योगदान गरे । सोएब खान २७ रन बनाएर रनआउट भए भने हर्षित कौशिकले उत्कृष्ट ५३ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए ।
बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्करले ३ विकेट लिए । जसदीप सिंह र शुभम रञ्जनेले २–२ विकेट हात पारे भने रशिल उगाकरले १ विकेट जोडे ।
जवाफमा अमेरिकाको सुरुवात कमजोर रह्यो । लक्ष्य पछ्याउने क्रममा सुरुआती तीन विकेट २२ रनमै गुमाएको थियो । समित पटेल शून्य, एन्ड्रियस गस १ र सइतेजा मुक्कमल्ला ८ रनमा आउट भए ।
तर, तेस्रो नम्बरका ब्याटर मोनांक पटेलले ६७ बलमा ५० रन बनाएपछि खेल अमेरिकाको पक्षमा फर्कियो । त्यसपछि सयन जाहान्गिर (१८) र मिलिन्द कुमारले पारी सम्हाले । कुमारले शुभम रञ्जनेसँग ७३ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कुमार ८१ बलमा ७१ रनमा आउट भए पनि शुभमले अविजित ४६ रन जोड्दै खेल अमेरिकाको पक्षमा समाप्त गरे ।
यूएईका बलर जुनैद सिद्दकीले ३ र सिमरनजित सिंहले २ विकेट लिए ।
जारी सिरिजमा यो यूएईको पहिलो खेल हो भने अमेरिकाको दोस्रो । पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनले हराएको थियो । यूएईले अब बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
२२ खेलबाट ३२ अंकसहित अमेरिका शीर्षस्थानमा छ । दोस्रो स्थानको स्कटल्यान्डसँग ३० अंक छ । नेपाल सातौँ स्थानमा १२ अंक र यूएई आठौँ स्थानमा ६ अंकसहित रहेको छ ।

