काठमाण्डौ। ‘चिकुनगुनिया’ भाइरस विश्वव्यापी रुपमा फैलिएको समाचार छ ।
भाइरसका बढ्दो केसहरूलाई ध्यानमा राख्दै अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले चीन र अन्य धेरै देशहरूको यात्रा गर्दा सावधानी अपनाउन चेतावनी जारी गरेको छ।
सीडीसीले अमेरिकी यात्रुहरूलाई जोखिमबारे चेतावनी दिएको छ । विशेष गरी यो लामखुट्टेबाट सर्ने भाइरस द्रुत रूपमा फैलिरहेको ठाउँहरूमा नजान भनेको छ । चिकुनगुनियाबाट विशेषगरी चीन सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ७ हजार मामिलाहरू रिपोर्ट गरिएको छ।
मिडिया रिपोर्टका अनुसार यस वर्ष हालसम्म मध्य र दक्षिण अमेरिका, अफ्रिका, हिन्द महासागर क्षेत्र र एशियाका धेरै भागहरूमा चिकुनगुनियाका करिब २.४ लाख केसहरू दर्ता भएका छन्। जसमध्ये ९० जनाको मृत्यु भएको तथ्यांक छ ।
चीनको दक्षिणी प्रान्त गुआङडोङ जहाँ जुन २०२५ देखि ७ हजार भन्दा बढी केसहरू रेकर्ड गरिएका छन्। यस सहरको जनसंख्या करिब ७८ लाख छ। सन् २०१९ पछि हङकङमा चिकनगुनियाको पहिलो केस भर्खरै रिपोर्ट गरिएको छ ।
चिकुनगुनियाको बढ्दो केसहरूलाई ध्यानमा राख्दै सिडिसीले लेभल–२ यात्रा स्वास्थ्य सूचना जारी गरेको छ, जसमा थप सावधानी अपनाइएको छ। चीनको ग्वाङ्डोङ प्रान्त, हिन्द महासागर क्षेत्रका मेडागास्कर, मोरिसस, मेयोट, रियुनियन, सोमालिया र श्रीलंकाका देशहरू पर्छन्।
यस बाहेक सीडीसीले ब्राजिल, कोलम्बिया, भारत, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र थाइल्याण्डका लागि अमेरिकाबाट आउने यात्रुहरूका लागि चेतावनी पनि जारी गरेको छ।
चिकनगुनिया अमेरिकामा सामान्य छ। तर, सिडिसीको तथ्यांक अनुसार सन् २००६ भन्दा पहिले अमेरिकी यात्रुहरूमा चिकनगुनियाको संक्रमण निकै दुर्लभ थियो। २००६–२०१३ को अवधिमा संयुक्त राज्यमा प्रत्येक वर्ष औसत २८ जनामा चिकनगुनिया भाइरस संक्रमणको निदान गरिएको थियो। ती सबै एसिया, अफ्रिका वा हिन्द महासागरका प्रभावित क्षेत्रहरूबाट संयुक्त राज्य अमेरिका आउने वा फर्कने यात्रुहरू थिए।
सीडीसीका अनुसार सन् २०१९ यता अमेरिकामा स्थानीय रूपमा सरेको कुनै पनि केस रिपोर्ट गरिएको छैन। तर, अहिलेसम्म सन् २०२४ मा १९९ र २०२५ मा ४६ अमेरिकी यात्राका क्रममा सङ्क्रमित भएका छन् ।

