विद्यार्थीदेखि सूचना, सञ्चार मन्त्रीसम्म : जगदीश खरेल गृह जिल्ला पुग्दा दोलखा नै गदगद
दोलखा । काँचका पर्दामा नेतामाथि धारिलो प्रश्न वर्षौंदेखि तेर्स्याउँदै आएका सञ्चारकर्मी जगदीश खरेल मन्त्री बनेपछि उनका विद्यालयका गुरुहरू खुसी र गर्वित बनेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्रीको हैसियतमा आफ्नै विद्यालय पुगेका खरेललाई कालीनाथ माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रामबहादुर सिवाकोटीले ‘छात्र जगदीश’ का रूपमा सम्झिँदै भावुक अभिवादन गरे।
सिँघटीमा आयोजित स्वागत कार्यक्रममा सिवाकोटीले विद्यालयमा बिताएका दिनहरूको सम्झना ताजा गरे।
“विद्यार्थीकालमै भाषण कलामा तेज थिए, तथ्य–तर्कसहित यस्तो प्रस्तुति दिन्थे कि तत्कालीन प्रधानाध्यापक देवराज शर्माले ‘यो भाइले बोलेरै खान्छ’ भन्थे,” सिवाकोटीले भने, “त्यही चिनारी उनले जीवनमा उभ्याए।”
बाल्यकालदेखि नै वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम र खेलकुदमा उत्तिकै सक्रिय खरेल करिब २५ वर्ष टेलिभिजन पत्रकारितामा रहँदा नेता तथा राज्य सञ्चालकलाई कडा–साहसी प्रश्न गर्ने शैलीका कारण चर्चित बने। सुशासन र जवाफदेहिताका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको योगदानकै कारण अहिले उनी सरकारको सूचना तथा सञ्चार एवम् प्रविधी मन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

सिवाकोटीले आफूले पढाएको विद्यार्थी मन्त्रीका रूपमा विद्यालय आएपछि “विश्वास अझ बलियो भएको” बताए।
“विद्यार्थीले अवसर पाउनुपर्छ, शिक्षक र अभिभावकले पनि अवसर दिन जान्नुपर्छ,” उनले भने, “आज यहाँ उभिएको हाम्रो विद्यार्थी भोलि फेरि अर्का विद्यार्थी पनि उभिन सक्छन् भन्ने आशा पलाएको छ।”
मन्त्री खरेलले पनि विद्यालयलाई सम्मानपूर्ण श्रेय दिए।
“म अहिले जुन जिम्मेवारीमा छु, यसको श्रेय विद्यालय र गुरुवर्गलाई नै सुम्पन्छु,” उनले भने, “सपना मात्र पर्याप्त हुँदैन, त्याग र मेहनत अनिवार्य हो।”
खरेलले कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्म अध्ययन गरेको कालीनाथ माध्यमिक विद्यालयले उनलाई स्वागत–अभिनन्दनका लागि भव्य कार्यक्रम आयोजना गरेको थियो। सडकदेखि विद्यालय प्राङ्गणसम्म पञ्चेबाजाको धुन, फूलमाला, अबिर र उत्साहले स्थानीय बासिन्दा लामबद्ध भई मन्त्री खरेललाई स्वागत गर्न उभिएका थिए। सयौँ विद्यार्थी हातमा फूल र अबिर लिएर उभिएका दृश्यले विद्यालय–समुदाय दुवैमा उत्सवको माहोल बनाएको थियो।
कार्यक्रममा विद्यार्थी रोशन आचार्यले “टेलिभिजनमा मात्र देखिने व्यक्ति विद्यालयमै आएपछि हौसला倍 भएको” बताए।
जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानीले मन्त्रीलाई कार्यकालमा दीर्घकालीन महत्त्वका कार्यक्रम प्राथमिकतामा राख्न सुझाव दिए।
वडाध्यक्ष रामबहादुर पाण्डेले स्थानीयस्तरमा इन्टरनेट पूर्वाधार विस्तारका लागि सहजीकरणको अपेक्षा व्यक्त गरे।
नागरिक समाजका अध्यक्ष दीपशङ्खर चौलागाईं र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले शिक्षा, सुशासन र नागरिक अधिकारमा ध्यान दिन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयले गरिरहेका प्रयत्नबारे जानकारी दिए।
गाउँपालिका–८ का अध्यक्ष सूर्यबहादुर आचार्यले धार्मिक पर्यटन विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे।
दोलखा भ्रमणका क्रममा मन्त्री खरेलले विभिन्न सरकारी कार्यालय निरीक्षण गर्दै नागरिक सेवा सुधार, सुशासन प्रवर्द्धन र चुनावी तयारीबारे सरोकारवालासँग छलफल गरे। उनले “राजनीति विद्यालयमा नल्याउन” शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै विद्यार्थीलाई सीप, अनुशासन र लगनशीलतामा जोड दिनुपर्ने धारणा राखे।

