सुनसरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष निरीक्षणमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा प्रणाली र सार्वजनिक खरिद प्रक्रियामा देखिएका समस्यालाई पहिचान गरी समग्र सुधार अघि बढाइने बताउनुभएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारको निरीक्षणपछि उनले स्वास्थ्य क्षेत्रका चुनौतीबारे आफूले निरन्तर सुझाव र तथ्यांक पाउँदै आएको उल्लेख गर्दै, “अहिले देखिएका समस्यामा प्राथमिकता राखेर सुधारका काम अघि बढ्छु,” भनिन्।
मन्त्रीका अनुसार मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याबदेखि सार्वजनिक खरिदसम्म—सबै क्षेत्रमा प्रणालीगत सुधार अपरिहार्य देखिएको छ।
“अस्पताल सेवा चुनौतीपूर्ण छ, समस्याको जरा पहिचान गरेर सुधारतर्फ काम गर्नु मेरो निरन्तर प्रयास हो,” मन्त्री डा. गौतमले भनिन्।
उनी चिकित्सक–स्वास्थ्यकर्मीका पीरमर्का, सेवा सञ्चालनका कठिनाइ र व्यवस्थापनसम्बन्धी गुनासा प्रत्यक्ष सुन्न नै धरान पुगेकी हुन्।
“जेनजी आन्दोलनपछि बनेको सरकारले पारदर्शी शासन, भ्रष्टाचारमुक्त प्रणाली र स्वास्थ्यसहित सबै सेवा–क्षेत्र व्यवस्थित बनाउनु नै मुख्य लक्ष्य लिएको छ,” उनको भनाइ छ।
मन्त्री गौतमले काठमाडौँ, लुम्बिनीलगायतका संघीय अस्पतालहरूको निरन्तर निरीक्षण भइरहेको बताइन्। सेवा प्रवाहको गुणस्तर, पर्खाइ समय, क्लिनिक सञ्चालन, नागरिकले भोगिरहेका असहजता—सबै विषय नजिकबाट अध्ययन भइरहेको उनले जानकारी दिइन्।
“अस्पतालबाट जनताले अनावश्यक दुःख नपाओस्, पर्खाइ समय घटोस्, सेवा सहज र व्यवस्थित होस् भन्ने उद्देश्यले निरीक्षणमा निस्किएकी हुँ,” गौतमले भनिन्।
साथै, चाँडै बस्दै गरेको बिपी प्रतिष्ठानको सिनेट बैठकका तयारीबारे प्रत्यक्ष बुझ्न पनि आफू निरीक्षणमा आएको बताउँदै, “आफ्नै आँखाले अवस्था हेरेपछि निर्णय गर्न सजिलो हुन्छ,” उनले थपिन्।

