काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला संस्थान र अपाङ्गता क्षेत्रमा सक्रिय संघ–संस्थाले दिवसका अवसरमा विविध कार्यक्रम सञ्चालन गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा १९९२ देखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्षको नारासमेत अर्थपूर्ण छ—
‘अपाङ्गता समावेशी समाजको प्रवर्धन : सामाजिक उन्नतिको संवर्द्धन’।
दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय समुदायको साझा प्रतिबद्धतामा फेरि ध्यानाकर्षण गराएको छ।
कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठ–मन्दिरदेखि सरकारी तथा निजी संरचनासम्म—अपाङ्गता मैत्री भौतिक संरचना र सहज वातावरण निर्माण अनिवार्य आवश्यकता मानिन्छ। तर व्यावहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाको ठहर छ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादापूर्वक जीवनयापन गर्ने अधिकार र सार्वजनिक सेवा–सुविधामा समान पहुँच सुनिश्चित गरेको छ। तर व्यवहारमा पूर्ण लागू नहुँदा अधिकार सुनिश्चितताका लागि निरन्तर दबाब र माग उठिरहेको छ।

