काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल निर्माणकाे यात्रा अघि बढिरहेकाे भन्दै सबै समुदायको हातेमालो अपरिहार्य भएको बताएका छन्।
गोकणेश्वर–३ मा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्दै मन्त्री खरेलले नेपाल विविध जाति, भाषा र संस्कृतिको साझा घर भएकाले सबैको पहिचानलाई सम्मान र संरक्षण गर्नुपर्ने बताए।
“समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ। गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु त्यो घरमा अर्को इँटा थपिएको हो, यो अभियानमा सबैको हातेमालो चाहिन्छ,” मन्त्री खरेलले भने।
सरकारको पहुँच सबै समुदाय र भूगोलसम्म पुर्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले आफू आज कुलुङ समुदायको कार्यक्रममा सहभागी हुन पुगेको तथ्य पनि त्यसै अभियानको निरन्तरता भएको बताए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने तयारी सरकार दृढतासाथ अघि बढाइरहेको र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको जानकारी समेत दिए।

