काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज अपराह्न ४ बजे त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दैछन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेलबाट ८ अंक जोडेर तालिकाको माथिल्लो भागमा उभिएको छ।
उता रोहितकुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनीले पाँचमध्ये २ खेल मात्र जितेको हुँदा प्लेअफमा टिक्न आजको खेल ‘डु या डाय’ बनेको छ।
आज विजयी भए विराटनगरले एक खेल बाँकी छँदै प्लेअफ सुरक्षित गर्नेछ।
तर लुम्बिनीका लागि भने हार मतलब प्लेअफको ढोका झन्डै बन्द भएको छ—त्यसैले उसका लागि यो खेल जित्नैपर्ने दबाब छ।
एनपीएलको दोस्रो सिजनका सबै खेल कीर्तिपुरमै दिउँसो र रातिको सत्रमा भइरहेको क्यानले जनाएको छ। प्रत्येक खेलका लागि ९,४५० टिकट बिक्री हुँदै आएको छ।
प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म चल्नेछ।
लिग चरण, तीन प्लेअफ र फाइनल मिलाएर ३२ खेल हुने तालिका छ।
एनपिएल हेर्न टिकट शनिबार साधारण रु ५००, प्रिमियम रु १,५००,
अन्य दिन साधारण रु ५००, प्रिमियम रु १,००० र
प्लेअफपछि जनरल रु १,०००, प्रिमियर रु २,००० रहेको क्यानले जनाएको छ ।
एनपीएलमा ८ फ्रेन्चाइज जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा छन् ।

