काठमाडौँ । विश्वभर क्यान्सर उपचारमा नयाँ–नयाँ प्रविधि विकास भइरहेका भए पनि नेपालमा केही अत्याधुनिक प्रविधि अझै भित्र्याउन सकिएको छैन। तथापि, क्यान्सरका अधिकांश उपचार भने नेपालमै सम्भव रहेको चिकित्सकहरूले बताएका छन्।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९९ प्रतिशत क्यान्सरको उपचार स्वदेशमै भइरहेको छ। “नेपालमा सम्भव नहुने केही सीमित क्यान्सर उपचारका लागि मात्र बिरामी भारतलगायत अन्य मुलुक जान बाध्य छन्,” उनले भने।
बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार नेपालमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी जस्ता केही अत्याधुनिक क्यान्सर उपचार प्रविधि उपलब्ध छैनन्। विशेषगरी प्रोटोनथेरापी जस्तो प्रविधिको लागत खर्बौँ रुपैयाँ पर्ने भएकाले नेपालमा मात्र होइन, भारतमै पनि सीमित स्थानमा मात्र उपलब्ध रहेको जनाइएको छ। यीबाहेकका अधिकांश क्यान्सर उपचार नेपालमै हुने गरेको डा. चालिसेको भनाइ छ।
निजी अस्पतालहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) की कोषाध्यक्ष स्वरूपा श्रेष्ठले क्यान्सर उपचारमा नेपालले उल्लेखनीय प्रगति गरेको बताइन्। “नेपालका अस्पतालहरूले नयाँ प्रविधि भित्र्याउँदै अगाडि बढिरहेका छन्,” उनले भनिन्, “एकाध प्रविधि बाहेक नेपालको क्यान्सर उपचार विश्वस्तरीय छ।”
क्यान्सर उपचार सबै नागरिकको पहुँचमा पुर्याउन औषधि उत्पादनतर्फ ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। डा. चालिसेका अनुसार नेपालमै क्यान्सरसम्बन्धी औषधि उत्पादन गर्न सकिए उपचार खर्च घट्ने र बिरामीले सुलभ मूल्यमा औषधि पाउने अवस्था सिर्जना हुनेछ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन करिब ४० जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। यस्तो अवस्थामा उपचार प्रविधिको विस्तारसँगै रोकथाम, प्रारम्भिक पहिचान र औषधि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

