काठमाण्डौ । पोखरा विश्वविद्यालय को २१औँ दीक्षान्त समारोह आज लेखनाथमा हुँदैछ। समारोहमा ६ हजार ६ सय २२ जना विद्यार्थी दीक्षित हुनेछन्।
विश्वविद्यालयकी कुलपतिसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्की समारोहमा सहभागी हुन पोखरा आउने कार्यक्रम छ।
आज बिहान ११ बजे सुरु हुने समारोहमा लैङ्गिक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। करिब छ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेकी उहाँले दक्षिण एशियामा लैङ्गिक समानता र महिला सशक्तीकरणको एजेन्डालाई संस्थागत र प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ सालमा स्थापना भएको विश्वविद्यालयअन्तर्गत आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयहरूमा हाल ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये स्नातक तहका ३४, स्नातकोत्तर तहका ३३, एमफिलका २ र विद्यावारिधिका ५ कार्यक्रम रहेका छन्। हाल विश्वविद्यालयमा ३७ हजार ५ सय ९३ विद्यार्थी अध्ययनरत छन्।
मधेश र कर्णाली प्रदेशबाहेक अन्य पाँच प्रदेशमा ६६ शैक्षिक संस्था सञ्चालनमा रहेका छन्। यसअघि सम्पन्न २० वटा दीक्षान्त समारोहमार्फत विभिन्न सङ्कायअन्तर्गत ७१ हजार २ सय २९ जना विद्यार्थीले उपाधि प्राप्त गरिसकेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिएका छन्।
विश्वविद्यालयले खुदी ढुङ्गेपाटनमा १०० शैयाको आधुनिक सुविधासम्पन्न शिक्षण अस्पताल स्थापना गरी शैक्षिक वर्ष २०७८/७९ देखि सञ्चालनमा ल्याएको छ। साथै, निकट भविष्यमै थप १३ वटा नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने योजना पनि विश्वविद्यालयले सार्वजनिक गरेको छ।

