काठमाण्डौ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणका सबै तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्राको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्ष लगाएर तयार पारिएको ‘मुनाल’ उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।
उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार ‘मुनाल’ उपग्रह आज बिहान १०ः१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०ः३२ बजे भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को ‘एसएलभी–एसिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’का रूपमा प्रक्षेपण गरिनेछ।
प्रक्षेपण भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ। यस प्रक्षेपणसँगै नेपालले अन्तरिक्ष प्रविधिको क्षेत्रमा अर्को महत्वपूर्ण अध्याय सुरु गर्न लागेको विश्वास लिइएको छ।

