काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि सोमबार (असोज २० गते)सम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका अनुसार यो अवधिमा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नदी–नालामा आकस्मिक बहाव र बाढीको जोखिम उच्च रहेको छ ।
बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट नेपालकी भूमितर्फ सरेसँगै नेपालमा मनसुनी वायु सक्रिय हुने र असोज १७ देखि २० गतेसम्म वर्षा तीव्र हुने अनुमान गरिएको विभागले जनाएको छ ।
यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीसहित सहायक नदी–नालामा पानीको बहाव उल्लेख्य बढ्ने, खतरा तह आसपास पुग्ने र आकस्मिक बाढी–डुबान, पहिरो तथा भूक्षय जस्ता जोखिम बढ्ने सम्भावना छ ।
विभागले मौसम र बाढीसम्बन्धी अद्यावधिक सूचना आफ्नो वेबसाइट, सामाजिक सञ्जाल र टोलफ्री नम्बर ११५५ मार्फत उपलब्ध हुने बताउँदै सम्भावित क्षति न्यूनिकरणका लागि सबै निकाय र आमसर्वसाधारणलाई पूर्वतयारी गर्न आग्रह गरेको छ ।

