काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका पदाधिकारी र जनप्रतिनिधिका लागि एउटा नयाँ नियम ल्याएको बताएका छन्। अबदेखि उनीहरूले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउनुपर्नेछ।
काठमाण्डौमा बिहिबार भएको एक कार्यक्रममा बोल्दै प्रचण्डले यो निर्णयले माओवादी नेताहरूको जीवनशैलीमा परिवर्तन ल्याउने बताए। उनले केन्द्रीय समितिको बैठकपछि १२३ जना माओवादीका स्थानीय निकायका प्रमुख, उपप्रमुख र नेताहरूलाई बोलाएर यसबारे निर्देशन दिइसकेको पनि जानकारी दिए।
प्रचण्डले यो निर्णय लागू भइसकेको र अबदेखि कसैले पनि आफ्ना छोराछोरीलाई विदेशमा अध्ययनका लागि पठाउन नपाउने बताए। उनले आफूले पनि आफ्ना सन्तानलाई विदेशमा अध्ययन नगराएको दाबी गरे।
यस निर्णयले नेताहरूलाई जनतासँग जोड्ने र सरकारी शिक्षा प्रणालीको सुधारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रचण्डको छ।
बिहिबार काठमाण्डौको राष्ट्रिय सभागृहमा अनेरास्ववियू (क्रान्तिकारी)द्वारा ‘विद्यार्थीसित प्रचण्ड’ विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । देशभरिबाट संकलित विद्यार्थीका हजारौं प्रश्नबाट छनौट गरि ९९ प्रश्न सो कार्यक्रममा लोकप्रिय सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रचन्डसित राखेका थिए ।
यस अघि जनवादी गायक जीवन शर्माको सांगितिक प्रस्तुती राखिएको थियो । उनले ‘अखिलको झण्डा फरर …’, झरनाको चिसोप पानी, सिमली छायाँमा बसी जस्ता गीत पस्किएका थिए ।

