काठमाण्डौ । एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई १–० गोल अन्तरले हराएको हो।
खेलको अन्तिम मिनेटमा सुक्रिया मियाले गोल गर्दै नेपाललाई महत्त्वपूर्ण तीन अंक दिलाइन्।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले साउदी अरबसँग कडा प्रतिस्पर्धा गरेको थियो। नेपालले सुरुदेखि नै गोलका अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। नेपालका लागि १८ औँ मिनेटमा सरिता कुमारी र ३७ औँ मिनेटमा मिना देउवाको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो।
यसअघिको खेलमा भुटानसँग १–१ को बराबरीमा रोकिएको नेपाल यो खेल पनि बराबरीमा सकिने सम्भावना बढिरहेको बेला सुक्रियाले निर्णायक गोल गरेकी हुन्। ९० औँ मिनेटमा मीना देउवाको पासलाई सदुपयोग गर्दै उनले नेपाललाई जित दिलाइन्।
साउदी अरब पनि गोलको नजिक पुगेको थियो। ४२ औँ मिनेटमा लमारको प्रहार पोस्टमाथिबाट बाहिरिँदा नेपाल जोगिएको थियो। त्यस्तै, ५५ औँ मिनेटमा अमीरा अबु अस्लमले लगातार दुई पटक गोल गर्ने अवसर गुमाएकी थिइन्।
पहिलो खेलमा उत्तर कोरियासँग १५–० ले पराजित भएको साउदी अरबले नेपालसँग भने उत्कृष्ट खेल प्रदर्शन गर्यो। यता, भुटानसँग बराबरी खेलेपछि प्रशिक्षक यामप्रसाद गुरुङले पहिलो रोजाइमा पाँच खेलाडी परिवर्तन गरेका थिए। वर्षा ओली, समीक्षा मगर, सरिता, मनीषा र कुसुम खतिवडाले पहिलो पटक सुरुवाती ११ मा खेल्ने मौका पाएका थिए।
यसै समूहको अर्को खेलमा उत्तर कोरियाले भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको छ। अब नेपालले अन्तिम खेल च्याम्पियन उत्तर कोरियासँग खेल्नेछ। नेपाललाई समूह उपविजेताका रूपमा अगाडि बढ्न यो जितले केही आशा दिएको छ।
यस छनोट प्रतियोगितामा ८ समूहका विजेता र उत्कृष्ट ३ उपविजेताले थाइल्यान्डमा हुने यु–२० एसियन कपमा स्थान बनाउने छन्।

