कैलाली । कैलाली कारागारमा कैदीबन्दीबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा ४८ जना घाइते भएका छन्।
मृतकको पहिचान भने अझैसम्म खुल्न सकेको छैन।
कारागार प्रशासनले मृतकको परिवार र स्थानीय तहसँग समन्वय गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेको जनाएको छ। घटनामा घाइते भएका सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये पाँच जना उपचारपछि घर फर्किएका छन्।
कारागारका निमित्त प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ‘ए’ र ‘बी’ ब्लकमा रहेका कैदीहरूबीच उक्त झडप भएको थियो। खासगरी, टीकापुरको कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका १८ जना कैदीलाई अन्यत्र सार्ने तयारी भइरहेको थियो। यही क्रममा उनीहरूबीच नाईके बन्ने विषयलाई लिएर विवाद हुँदा झडप भएको कारागार स्रोतले बताएको छ।
चौधरीका अनुसार यस घटनाबारे थप छानबिन भइरहेको छ। यसअघि पनि बिहीबार कैदी स्थानान्तरणकै विषयमा विवाद हुँदा पाँच जना घाइते भएका थिए।

