काठमाडौँ। लगातारको वर्षाले नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा नगर्न आग्रह गरेको छ।
नागढुंगा नाकामा तैनाथ प्रहरीले माइकिङ गर्दै यात्रुलाई धादिङतर्फ अगाडि नबढ्न र काठमाडौँमै फर्किन अनुरोध गरिरहेका छन्।
“धादिङका विभिन्न स्थानमा पहिरो खसेको छ। तत्काल सडक खुलाउने अवस्था छैन, कृपया सुरक्षित रहन काठमाडौँमै फर्किनुहोस्,” प्रहरीले जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
त्यसैगरी धादिङ र तनहुँतर्फका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि नै सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

