काठमाडौँ। अविरल वर्षासँगै चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। तुइन खोलाको आसपासमा लगातार ढुंगा र पहिरो खसिरहेको कारण अर्को सूचना जारी नभएसम्म आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
डीएसपी सूर्यबहादुर थापाका अनुसार गएरातिदेखिको वर्षाले सडकमा खसेका ढुंगा पन्छाउन समेत नसकिएको हो। अझै भारी वर्षा हुने सम्भावनाले थप जोखिम मूल्याङ्कन गर्नुपर्ने भएकाले सडक बन्द गरिएको उनले बताए।
यसअघि पनि असोजको पहिलो सातामा तुइन खोलामै ठूलो पहिरो खस्दा सडक ३६ घण्टा अबरुद्ध भएको थियो।
यता मुग्लिन–नागढुंगा सडकखण्डमा भने जवाङ खोलामा खसेको पहिरो हटाइएसँगै सवारीसाधनको आवागमन सुरु भएको सडक डिभिजन भरतपुरले जनाएको छ। त्यहाँ आज बिहान ५ बजेर ५५ मिनेटमा पहिरो खसेको थियो।