काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज बालुवाटारस्थित निवासमा भेटवार्ता भएको छ। मुलुकको समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा सरकारका प्राथमिकताबारे दुवैबीच विस्तृत चर्चा भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री खरेलले सरकारको काम, प्राथमिकता, सुशासन एजेन्डा, रोजगारी सिर्जना, नवप्रवर्तन, र आगामी फागुन २१ मा सम्पन्न हुने निर्वाचनको तयारीबारे जानकारी गराए।
उनका अनुसार सरकारले आवश्यक पूर्वाधार, शान्ति–सुरक्षा व्यवस्था र निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरूसँग नियमित संवाद गरिरहेको छ।
मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सफल बनाउन पूर्ण प्रतिबद्धतासहित तयारी गरिरहेको उल्लेख गरे।
पूर्वराष्ट्रपति भण्डारीले भेटमा अहिलेको परिस्थितिमा निर्वाचन नै देशको उपयुक्त विकल्प भएको बताइन्। उनले सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै भनिन्—
“निर्वाचन नै देशको निकासको सही बाटो हो। सरकारलाई वातावरण निर्माणमा सक्रिय हुनुपर्ने आवश्यकता छ।”
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थिरता र जनताको विश्वास पुनःस्थापना गर्न निर्वाचन महत्वपूर्ण हुनेमा जोड दिइन्।
सरकारले निर्वाचनका लागि विभिन्न पक्षसँग संवाद र समन्वय तीव्र बनाएको मन्त्री खरेलले भेटमा जानकारी गराएका थिए।

