काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र त्यसका लागि सहज कर्जा प्रणाली विकास गर्ने सम्बन्धमा समझदारी भएको छ।
समझदारी पत्रमा बैंकका इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकलाई लक्षित गरी विशेष हरितगृह कर्जा सुविधा उपलब्ध गराउनेछ। त्यस्तै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्ना सदस्यहरूलाई बैंकका कृषि कर्जा योजनाबारे जानकारी प्रदान गर्नेछ।
यस सहकार्यबाट पुष्प व्यवसायी तथा कृषकहरूको उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास तथा सेवामा अभिवृद्धि हुने विश्वास लिइएको छ। साथै, जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधि अवलम्बनतर्फ कृषक तथा उद्यमीहरूलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
बैंक र एसोसिएशनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न चाहने पुष्प व्यवसायी तथा उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै फूल तथा आलङ्कारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४/२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।
