काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पत्नी अनुजा श्रेष्ठ पक्राउ परेकी छन्।
महर दम्पत्तिविरुद्ध रश्मिला धामीले विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा दर्ता भएको मुद्दामा सोमबार जिल्ला अदालत, काठमाडौँमा पेसी तोकिएको थियो।
थुनछेक बहसपछि अदालतले ऐन महरसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। महरले उक्त धरौटी बुझाएपछि रिहा भएका जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।
त्यही मुद्दासँग सम्बन्धित रहेर साइबर ब्यूरोको टोलीले ऐन महरकी पत्नी अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो। उनको थुनछेक बहस नसकिएकाले मंगलबार अदालतमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ।
महर पत्नी अनुजा श्रेष्ठ अमृत साइन्स क्याम्पस लैनचौरकी उपप्राध्यापक हुन् ।

