काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।
दुई नेताबीच सोमबार भेट भएको हो। भेटमा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी थिए। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति र देशको वर्तमान अवस्थाबारे छलफल भएको बताइएको छ।
शुक्रबार सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीव्र बनाएका छन्। रिहा भएको भोलिपल्ट आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै वर्तमान सरकारलाई रास्वपाको साथ रहेको सन्देश दिएका थिए।
सहकारी ठगी प्रकरणपछि अदालतले मागेको बिगो बुझाई कारागारबाट मुक्त भएपछि रवि लामिछाने र काठमाडौँ महानगरका मेयर शाहबीच भएको यो पहिलो औपचारिक भेट हो। यो भेटलाई आगामी राजनीतिक समीकरण र सम्भावित सहकार्यका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

