काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनलाई अमेरिकाले फिर्ता बोलाएको छ। जो बाइडेन राष्ट्रपतिकालमा नियुक्त भएका थम्पसनलाई डोनाल्ड ट्रम्प प्रशासनले फिर्ता बोलाएको बुझिएको छ।
अमेरिकाले एकैपटक विश्वका करिब ३० देशमा तैनाथ आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। तीमध्ये केही राजदूतको कार्यकाल पूरा भइसकेको भए पनि केहीको अवधि अझै बाँकी नै रहेको थियो ।
ट्रम्प प्रशासनले युरोप, अफ्रिका, मध्यपूर्व, एशिया–प्रशान्त र दक्षिण एसियाली मुलुकहरूबाट राजदूतहरू फिर्ता बोलाएको हो। यस निर्णयलाई अमेरिकाको नयाँ कूटनीतिक प्राथमिकता र नीति परिवर्तनसँग जोडेर हेरिएको छ।
विशेषतः अमेरिकी सहयोगमा विभिन्न मुलुकमा ‘जेन–जी आन्दोलन’ भएका नेपाल, श्रीलंका, माडागास्कर, फिलिपिन्सलगायत देशमा कार्यरत राजदूतलाई फिर्ता बोलाइनु कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। कतिपय कूटनीतिक जानकारहरूले बाइडेन प्रशासनकालीन नीतिअनुसार ती देशहरूमा जेन–जी आन्दोलनमार्फत आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप लगाउँदै आएका थिए। ट्रम्पको ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने’ नीतिसँग यो निर्णय मेल खाने उनीहरूको विश्लेषण छ।
फिर्ता बोलाइने सूचीमा अफ्रिकाबाट बुरुन्डी, क्यामरुन, केप भर्डे, ग्याबोन, कोट द’आइभोर, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवाण्डा, सेनेगल, सोमालिया र युगान्डामा कार्यरत कूटनीतिज्ञहरू परेका छन्।
त्यसैगरी एशिया–प्रशान्त क्षेत्रबाट फिजी, लाओस, पपुवा न्यू गिनी, फिलिपिन्स र भियतनाम तथा दक्षिण एसियाबाट नेपाल र श्रीलंका पनि फिर्ता हुने सूचीमा छन्। युरोपतर्फ आर्मेनिया, उत्तर म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकियाबाट पनि अमेरिकी राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिइएको छ।

