काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन (आइतबार)को तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो।
यससँगै गत हप्ता सोमबार बनेको रेकर्ड ठीक एक सातामै तोडिएको छ। गत सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्यमा पुगेको थियो।
चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। अघिल्लो दिनको तुलनामा सोमबार चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ। नेपाली समयअनुसार बिहान १०ः५० बजे सुन प्रतिऔंस (नोट: १ औंस बराबर २.४३ तोला हुन्छ।)४ हजार ३९७ अमेरिकी डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको यही उछालको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्।

