काठमाण्डौ । इरानले देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था फार्स का अनुसार इजरायलसँगको सम्बन्ध चर्किएको अवस्थामा गरिएको यो परीक्षणले दुई देशबीचको तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ।
फार्सका अनुसार खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादलगायत स्थानमा सोमबार क्षेप्यास्त्र परीक्षण गरिएको हो। परीक्षणको विस्तृत विवरण सार्वजनिक नगरिए पनि यसलाई इरानको सैन्य तयारी र शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।
यसैबीच, इरानी सेनाका प्रमुख आमिर हतामीले इरानी सेना कुनै पनि खतराको सामना गर्न सधैं तयार रहेको बताएका छन्। पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको निरीक्षणका क्रममा उनले भने, “इरानी सेना असममित र अनियमित युद्धसहित सबै किसिमका चुनौतीको सामना गर्न सक्षम छ।”
हतामीले इरानले आफ्ना विरोधीहरूको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै थपे, “दुश्मनको हरेक गतिविधिलाई हामी सूक्ष्म रूपमा नियालिरहेका छौँ। कुनै पनि दुर्भावनापूर्ण कार्य भए त्यसको निर्णायक जवाफ दिइनेछ।”
इरान र इजरायलबीच लामो समयदेखि चलिरहेको राजनीतिक तथा सैन्य तनावका बीच गरिएको यस परीक्षणलाई क्षेत्रीय सुरक्षाका दृष्टिले संवेदनशील घटनाका रूपमा हेरिएको छ।

