काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १:०.६ (विद्यमान एक कित्ता बराबर नयाँ ०.६ कित्ता) को अनुपातमा ४५ करोड ३६ लाख रुपैयाँ बराबरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको हो।
वसुन्धारास्थित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताबीच सेतुको भूमिका निर्वाह गर्दै आएको अग्रणी कम्पनी हो। कम्पनीले संस्थागत मूल्य शृंखला व्यवस्थापकका रूपमा कृषकलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रचार-प्रसार, प्रशोधन उद्योगको विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउँदै आएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिस्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धन गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

