काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता इश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र टिप्पणीलाई लिएर अनावश्यक रूपमा तरंगित नबन्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले महाधिवेशनपछि भएका सामान्य छलफल र असहमतिलाई अतिरञ्जित ढंगले व्याख्या गर्नु पार्टी र आन्दोलनका लागि नोक्सानदायी हुने चेतावनी दिएका छन्।
महाधिवेशनमा उठेका विषय, नेतृत्व चयनका क्रममा भएको प्रतिस्पर्धा तथा प्रतिस्पर्धी समूहबीचको सामान्य छलफल एवम् विदाइलाई लिएर केही नेताहरूद्वारा सार्वजनिक प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको पोखरेलले उल्लेख गरेका छन्।
विगतमा पार्टीभित्रका विवादले नकारात्मक परिणाम भोग्नुपरेको स्मरण गराउँदै उनले अहिले पनि त्यही ‘त्रासको भूत’बाट डराइरहनु उचित नभएको बताएका छन्।
पोखरेलले भनेका छन्—विगतको दुर्भाग्यपूर्ण अध्याय दोहोरिने छैन र दोहोर्याउन दिइने छैन।
महाधिवेशनबाट निर्वाचित नेतृत्व र संस्थागत निर्णयविरुद्ध कसैले पनि काम नगर्ने उनको तर्क छ। तर, आत्मसमर्पण होइन आत्मसम्मान खोज्नु नेता–कार्यकर्ताको स्वाभाविक अपेक्षा भएको र समान तथा सम्मानजनक व्यवहार नहुँदा असहमति वा विरोध देखिनु अस्वाभाविक नभएको उनको तर्क छ।
उनले यसपटक नेतृत्व चयनमा सर्वसम्मति हुन नसक्नुका कारणबारे पनि संकेत गरेका छन्। नेतृत्वबाट सर्वसम्मतिका लागि ठोस पहल नदेखिएको अनुभूति महाधिवेशनका धेरै सहभागीले गरेको उल्लेख गर्दै पोखरेलले त्यसबारे प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्।
महाधिवेशनको क्रममा समूहगत प्रतिस्पर्धा हुँदा पार्टी जीवनको लोकतान्त्रिकरणसँग सम्बन्धित नीतिगत मुद्दा उठाइएको र ती विषय ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले लुकाउनुपर्ने केही नभएको स्पष्ट पारेका छन्। अब महाधिवेशनले दिएको निष्कर्ष पालना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ।
पोखरेलले पार्टीलाई एकताबद्ध राख्न निरन्तर बहस–छलफल, संस्थागत निर्णयको पालना, व्यवहारमा काखा–पाखा नहुने सुनिश्चितता र विभाजनको दृढ विरोध आजको आवश्यकता भएको बताएका छन्। आग्रह–प्रेरित कटाक्ष र अनावश्यक उत्तेजनाले पार्टीलाई फाइदा नभई नोक्सान मात्र पुर्याउने उनले चेतावनी दिएका छन्।
उनले अन्त्यमा विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी एकता मजबुत बनाउने व्यवहार, सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको संरक्षणलाई मूल आधार बनाउन सके एमाले निर्णायक राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरेका छन्।

