काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो र राति पनि देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बिहानको समयमा सवारी साधन चलाउँदा सावधानी अपनाउन र हवाई यात्रामा समेत सतर्क रहन आग्रह गरेको छ।

