काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी सेवा देशभरका २७ शाखामा विस्तार गरेको छ। यसअघि केन्द्रीय कार्यालयसहित केही सीमित शाखाबाट मात्र प्रदान हुँदै आएको यो सेवा अब काठमाडौँ उपत्यकाका १७ सहित देशका प्रमुख शहरहरूमा उपलब्ध हुनेछ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाँइका अनुसार डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउन सेवा विस्तार गरिएको हो। “अब ग्राहकले आफ्नो नजिकको शाखाबाट नै सहज र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा लिन सक्नेछन्,” उनले बताए।
यसअन्तर्गत उपत्यकाभित्र तीनधारा, पुतलीसडक, महाराजगञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटीका शाखामा सेवा उपलब्ध हुनेछ।
त्यस्तै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरामा पनि सेवा सुरु गरिने बैंकले जनाएको छ।
नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले भिसा आवेदन शुल्क, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका आवेदन शुल्क, बीमा, ACCA शुल्क तथा विभिन्न शैक्षिक–व्यापारिक सम्मेलनका भुक्तानी सहजै गर्न सक्नेछन्। यसका लागि छुट्टै अन्तर्राष्ट्रिय कार्डको आवश्यकता नपर्ने बैंकले स्पष्ट गरेको छ।
नबिल बैंक देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको अग्रणी बैंक हो। चार दशकदेखि बैंकिङ क्षेत्रको आधुनिकीकरणमा अग्रणी भूमिका खेल्दै आएको नबिलले यो सेवा विस्तारलाई बैंकिङ पहुँच विस्तारमा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

