काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनको नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू भएको बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।
साढे तीन दशकभन्दा बढीको आफ्नो व्यावसायिक यात्रामा बस्यालले बैंक सञ्चालनका विविध आयाममा व्यापक अनुभव हासिल गरेका छन्। विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनका क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको बैंकले जनाएको छ।
संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने तथा संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

