काठमाण्डौ । महालक्ष्मी विकास बैंकले भारतको प्रतिष्ठित बैंक एचडीएफसी बैंकसँग एउटा महत्त्वपूर्ण समझदारी गरेको छ। सम्झौताले सीमा-पार (cross-border) वित्तीय सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यससँगै अब भारतबाट नेपालमा भुक्तानी गर्न एवम् आफूले गरेको आम्दानी वा पैसा पठाउन सहज हुने भएको छ।
सिधा भुक्तानी सेवाको मुख्य विशेषता
पहिलो विकास बैंक: भारतबाट नेपालमा सीधा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक नेपालको पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक सबै प्रक्रिया पूरा गरी सफल परीक्षण कारोबार समेत गरिसकेका छन्।
यो प्रणालीले कसरी काम गर्छ ?
यो प्रणालीअन्तर्गत, भारतमा रहेका कुनै पनि व्यक्ति वा संस्थाले विभिन्न माध्यमहरू जस्तै एनईएफटी (NEFT), आरटीजीएस (RTGS), र एफटी (FT) को प्रयोग गरी एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।
यसका अतिरिक्त, भारतमा रहेका अन्य बैंकका चेक जम्मा गरेर पनि नेपालमा पैसा पठाउन सकिने सुविधा उपलब्ध हुनेछ।
महालक्ष्मी विकास बैंकले यस सम्झौताले नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छ। यसले सीमापार व्यापार र रेमिट्यान्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री सेवा प्रदान गर्नेछ। यो नयाँ प्रणालीले बैंकको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतालाई पनि थप बल पुर्याउने विश्वास दुई बैंकको रहेको छ।

