काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेडले सुजितकुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको ७३६औँ बैठकले शाक्यलाई सर्वसम्मत रूपमा चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।
बैंकका अनुसार शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्नेछन्। औपचारिक पदभार ग्रहण समारोह पछि बैंकले विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।
को हुन नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्य ?
शाक्य हाल नबिल बैंक लिमिटेडका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (Senior Deputy CEO) का रूपमा कार्यरत छन्। उनले नबिलमा लामो समयदेखि बैंक सञ्चालन, रणनीतिक योजना, र वित्तीय व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्। बैंकिङ क्षेत्रका अनुभवी, अनुशासित र नवप्रवर्तनशील प्रबन्धकका रूपमा उनी चिनिन्छन्।
शाक्यले करिब तीन दशकदेखि नेपालका ठूला बैंकहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। नबिल बैंकमा उनले अन्तर्राष्ट्रिय कारोबार, क्रेडिट व्यवस्थापन, जोखिम मूल्याङ्कन, र प्रविधिमैत्री बैंकिङ प्रणाली विकासमा उल्लेखनीय योगदान दिएका छन् ।
एनआईसी एशिया बैंकले हालैको समयमा डिजिटल बैंकिङ विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र लगानी विविधीकरणमा जोड दिँदै आएको छ। नयाँ सीईओको आगमनसँगै बैंकले अझ आधुनिक, प्रतिस्पर्धी र ग्राहक–मैत्री सेवामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
नेपालको निजी क्षेत्रका अग्रणी वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंकले देशभर ४२० भन्दा बढी शाखा, सयौं एटीएम र विस्तारित डिजिटल प्लेटफर्ममार्फत सेवा दिँदै आएको छ।
शाक्यको नियुक्तिले बैंकको संस्थागत सुदृढीकरण र दिगो विकासमा नयाँ दिशा दिने विश्वास बैंकले जनाएको छ।

