काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई सोमबार औपचारिक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकारको गृहमन्त्रीस्तरको कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट पदोन्नति भएका पाँच जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले नवपदोन्नत डीआईजीहरूलाई दर्ज्यानी चिह्न अर्पण गरेका हुन् ।
दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी खापुङले नवपदोन्नत अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले प्रहरी सेवामा व्यावसायिकता, इमानदारी र कर्तव्यनिष्ठा कायम राख्दै संस्थाको प्रतिष्ठा उच्च राख्ने गरी काम गर्न निर्देशनसमेत दिए ।
आईजीपी खापुङले थपे, “दर्ज्यानी चिह्न सम्मान मात्र होइन, जिम्मेवारीको प्रतीक पनि हो । आफ्नो आचरण, नेतृत्व र निर्णयले संगठनमा अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।”

