काठमाण्डौ । गौरीशङ्कर गाउँपालिका–९, दोलखा अन्तर्गत रोल्वालिङ हिमशृङ्खलाको यलुङरी हिमाल क्षेत्रमा सोमबार बिहान गएको भीषण हिमपहिरोमा परेर एक विदेशी नागरिकसहित दुई नेपालीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आरोहणका लागि गएका १५ जना विदेशी तथा स्वदेशी पथप्रदर्शकहरूको समूह बिहान करिब ९ बजे यलुङरी हिमालको आधारशिविर नजिकै हिमपहिरोमा परेको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोका अनुसार हिमपहिरोमा परेका आरोहीको अवस्था अहिलेसम्म यकिन हुन सकेको छैन ।
स्थानीय वडाध्यक्ष निमगेली शेर्पाका अनुसार सोमबार बिहानै उद्धारका लागि प्रशासनलाई आग्रह गरिएको भए पनि हेलिकोप्टर उडानमा ढिलाइ भएको थियो ।
उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्रभित्र पर्ने भएकाले प्रशासनले अनुमति दिन ढिलाइ गरेपछि उद्धार कार्यमा थप कठिनाइ भएको हो।
प्रहरीले भनेको छ, “हिमपहिरोमा परेकाको खोजी तथा उद्धार कार्य जारी छ ।” उद्धारका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीको भनाइ छ ।
यसअघि पनि यलुङरी हिमाल आसपासका क्षेत्रमा लगातार हिमपहिरोका जोखिम भइरहेका छन् । हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू स्थलतर्फ पठाइएका छन् ।

