काठमाण्डौ — नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिको कात्तिक १४ गते बसेको ५३६औँ बैठकले वेंकट वंसीधर कुंचालाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
कुंचा स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्दै आएका लगानीकर्ता हुन्।
अध्यक्ष कुंचा भारतको मुम्बईस्थित एसबीआईको प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धक (Chief General Manager) का रूपमा कार्यरत छन्। उनले एसबीआईका २९ देशमा फैलिएका अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित गतिविधि सम्हाल्दै आएका छन्।
गर्भनर पौडेलद्वारा कुंचालाई सपथ ग्रहण
नवनियुक्त अध्यक्ष कुंचाले सोमबार नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
सपथ ग्रहण कार्यक्रममा डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कामु कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरणकुमार अधिकारीको उपस्थिति थियो।
त्यसैगरी नेपाल एसबीआई बैंकका सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्ट, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र कम्पनी सचिव खगेश्वर भट्ट पनि कार्यक्रममा उपस्थित थिए।

