कुल सम्पत्ति करिब ९० करोड, देशभर कार्यक्षेत्र बिस्तार
काठमाण्डौ — निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले आगामी एक वर्षभित्र सर्वसाधारणका लागि करिब ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेको छ।
हालै सम्पन्न पाँचौं वार्षिक साधारणसभाबाट आइपिओ निष्कासनको प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ।
बैंकले गत भदौ महिनामै ग्लोबल आइएमई क्यापिटलसँग आइपिओ निष्कासनका लागि सम्झौता गरिसकेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि प्रस्ताव धितोपत्र बोर्डमा दर्ता गरिने बैंकले जनाएको छ।
‘दिगो कृषि उत्पादन, हाम्रो अभियान’ नारा सहित सन् २०२० (२०७७ साल कार्तिक ४ गते) मा स्थापना भएको यो बैंक निजी क्षेत्रबाट खुलेको पहिलो ‘फुड बैंक’ हो। हाल यसका १,०२० जना प्रवर्द्धक शेयरधनी छन्।
सम्पत्ति करिब ९० करोड
संस्थापक अध्यक्ष एवं हालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. शंकरनाथ उप्रेतीका अनुसार बैंकसँग हाल करिब ९० करोड रुपैयाँ बराबरको सम्पत्ति छ।
प्रतिवेदन अनुसार, बैंकले ललितपुरको कुसुन्तीमा ५ करोड ५० लाख रुपैयाँमा घर खरिद गरी त्यहीँ केन्द्रिय कार्यालय सार्ने तयारी गरेको छ।
त्यस्तै, अर्घाखाँचीमा ६५ रोपनी (लागत ४ करोड), सप्तरीमा ७१ कठ्ठा २ धुर (लागत ४ करोड), सिमरामा १३ कठ्ठा र पोखरामा ३ रोपनीसहित करिब ३ करोड बराबरको जग्गा जोडिएको छ।
बैंकले ‘मिलन एग्रो हस्बेन्डरी कृषि फर्म’को ९ विघा १७ कठ्ठा जमिन झण्डै १५ करोडमा खरिद गरेको छ।
साथै बर्दियामा २ करोड मूल्यको गोदाम, झापाको गौरादहमा ५० लाख मूल्यको गोदाम र सर्लाहीको बरथवामा करिब १ करोड बराबरको संकलन तथा बिक्री केन्द्र सञ्चालनमा छन्।
बैंकको सबैभन्दा ठूलो लगानी विराटनगर–बेलबारीमा रहेको ५२ करोड बराबरको दाना उद्योगमा छ।
त्यसबाहेक, बैंकसँग १ करोड बराबरको मार्ट, २ करोडको बिउ व्यवसाय र १ करोडको आयात–निर्यात लगानी पनि छ।
कृषि उत्पादन र विस्तार योजना
बैंकले झापा, बर्दिया, कास्की लगायत जिल्लाहरूमा आफ्नै तथा भाडाको जग्गामा ठुलो मात्रामा धान, मकै, गहुँ, दाल, तोरी र भटमास उत्पादन गर्दै आएको छ।
डा. उप्रेतीका अनुसार, आगामी दिनमा बैंकले कृषि पर्यटन र कृषि–औद्योगिक हबको अवधारणा अघि बढाउँदै देशकै सबैभन्दा ठुलो व्यावसायिक कृषि संस्था बनाउने लक्ष्य लिएको छ।
नयाँ नेतृत्व चयन
पाँचौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ।
अध्यक्षमा किशोरकुमार प्रधान,
सदस्यहरूमा प्रा.डा. भरत पहारी, प्रा.डा. मोहन प्रसाद पन्थी, दुर्गाकुमार थापा, डा. हरिकृष्ण दहाल, सूर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल रहेका छन्।
यसैसभाबाट पूर्व संस्थापक अध्यक्ष डा. शंकरनाथ उप्रेतीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरिएको छ। कृषि क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका उप्रेती विगत पाँच वर्षदेखि संस्थाको नेतृत्व गर्दै आएका छन्।
सल्लाहकारमा पूर्व गभर्नरदेखि कृषि विज्ञसम्म
बैंकको सल्लाहकारमा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, कृषि विज्ञ प्रा.डा. कैलाशनाथ प्याकुरेल, नारेसका पूर्व कार्यकारी निर्देशक डा. दिलबहादुर गुरुङ, राष्ट्र बैंकका निर्देशक डा. शंकरप्रसाद आचार्य, कुमारी बैंकका सञ्चालक प्रा.डा. गणेशप्रसाद पाठक,
साथै सार्वजनिक स्वास्थ्य विज्ञ डा. पुष्पा आचार्य, युनिसेफका वरिष्ठ अधिकारी भानुभक्त पाठक, नीति विज्ञ डा. पुरुषोत्तम मुडभरी, चीनका पूर्व राजदूत डा. कृष्णप्रसाद ओली,
राजनीतिज्ञ सिर्जना सिंह, साहित्यकार लिलादेवी श्रेष्ठ, र समाजसेवी सन्त कुँवर लगायतका व्यक्तित्वहरू रहेका छन्।
रोजगारी र भविष्य दृष्टि
व्यवसायिक कृषिमा पाइला अघि बढाएको यस बैंकले हाल प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौंलाई रोजगारी प्रदान गरिरहेको छ।
सिइओ उप्रेतीका अनुसार, आइपिओ निष्कासनपछि थप जग्गा, कृषि मेशिनरी र उपकरण खरिद गरी उत्पादन क्षमता विस्तार गर्ने योजना बैंकले बनाएको छ।

