काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच बैंकका कर्मचारी तथा सेवाग्राहीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, उनीहरूका परिवारका सदस्यहरू, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकका क्रेडिट कार्ड होल्डरहरू तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने कुल बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक श्री रोशन ओझाले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौताबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरूले गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ। बैंक र अस्पतालबीचको यस सहकार्यले सेवाग्राहीको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

