काठमाडौं, साउन ४ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ मा नबिल बैंक लिमिटेड सम्मानित भएको छ। बैंकिङ क्षेत्रमा नबिल बैंकलाई आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा देखाएको उत्कृष्ट कार्यसम्पादनको आधारमा यो अवार्ड प्रदान गरिएको हो।
यसअघि पनि आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा नबिल बैंकले यही अवार्ड अन्तर्गत गोल्ड अवार्ड जितेको थियो।
शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा माननीय महालेखापरीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई पुरस्कार हस्तान्तरण गरे।
यो पुरस्कृत प्रतिवेदनले दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने साफा बिपिए अवार्ड का लागि दक्षिण एसियाली स्तरमा मनोनयनमा पर्न सक्ने अवसर पनि प्राप्त गरेको छ।
नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक नबिल बैंक देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैंकले नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै नेपालको बैंकिङ प्रणालीको सुदृढीकरणमा कोसेढुङ्गाको भूमिका खेल्दै आएको छ।
यस अवार्डमार्फत बैंकको वित्तीय उत्तरदायित्व, पारदर्शिता र सुशासनमा उच्च प्रतिबद्धता झल्किएको भन्दै नबिल बैंकले यस उपलब्धिलाई आगामी दिनमा अझ मजबुत सेवा विस्तारको प्रेरणाको रूपमा लिएको जनाएको छ।

