काठमाडौं, साउन ४
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानमा सम्भावित भारी वर्षाका कारण अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीलाई आग्रह गर्नुभएको छ। मौसमजन्य विपद्बाट जोगिन सबैमा सजग र सतर्क रहन पनि उहाँले आह्वान गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सचेतना सन्देश सार्वजनिक गर्नुभएको हो। उहाँले सरकारी सुरक्षा निकायहरूले जारी गरेका सूचनालाई पालना गर्न आग्रह गर्दै नागरिक सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।”
उक्त सन्देशमार्फत प्रधानमन्त्रीले समस्त देशवासीको सुरक्षालाई प्राथमिकतामा राख्दै संभावित प्राकृतिक विपद्बाट जोगिन सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विज्ञान विभागले पनि सबैलाई सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

