काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीका सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले वित्तीय सेवा प्रदायक संस्थाले पर्याप्त अध्ययन–अनुसन्धान नगर्दा मुलुकमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार हुँदै गएको बताए।
देशमा भित्रिने विप्रेषणको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा परिचालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार कसरी विस्तार गर्न सकिन्छ, रोजगारी कसरी सिर्जना गर्न सकिन्छ र उत्पादन कसरी बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिए।
“हाम्रा बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी र उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने प्रवृत्ति देखिन्छ,” उनले भने।
उनले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व लिन सुझाव दिँदै अन्य बैंक तथा वित्तीय संस्थाका लागि उदाहरण बन्न आग्रह गरे।
अर्थमन्त्री खनालले मुलुकमा भित्रिने विप्रेषणको ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको उल्लेख गर्दै यसले दीर्घकालीन आर्थिक रूपान्तरणमा अपेक्षित योगदान दिन नसकेको बताए ।

