काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
निर्वाचनका लागि कर्मचारी खटाइसकिएको, मतदान केन्द्र निर्माण भइसकेको तथा मतपत्रसमेत मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। बागमती प्रदेशमा महिला र अन्य समूहका गरी दुई सिटका लागि चार दलबाट तीन महिला र तीन पुरुष गरी कुल छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्। त्यसैगरी अन्य क्लस्टरतर्फ नेकपा (एमाले)का डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीका प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्।
एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ। प्रदेशमा प्रदेशसभा सदस्य ११० र स्थानीय तहबाट २३८ गरी कुल ३४८ मतदाता रहेका छन् भने कुल मतभार १० हजार ३५२ रहेको छ।
गण्डकी प्रदेशमा पनि दुई सिटका लागि मतदान
आज हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा पनि दुई सदस्यका लागि मतदान हुँदैछ। प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदानका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्था लगायत सबै तयारी पूरा गरिएको छ।
उनका अनुसार निर्वाचन कार्यालय परिसरमै दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ। एक केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन्। महिलातर्फ एमालेकी सम्झना देवकोटा र अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा. जगत् तिमिल्सिना उम्मेदवार छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमोर्चाबाट महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटा र अन्यतर्फ शङ्करप्रसाद बराल उम्मेदवार छन्।
गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ।

