काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ‘ए’विरुद्धको तेस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ।
शनिबार सम्पन्न तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित हात गरेको हो। सुरुका दुई अभ्यास खेलमा पराजय बेहोरेको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको छ।
पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै तीन विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण भूमिका खेले। अर्धशतक बनाउन एक रनले चुकेका भुर्तेलले ३५ बलमा ४९ रन बनाए।
उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदै अविजित रहे।
त्यसैगरी आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।
विश्वकपअघि अब नेपाली टोली श्रीलंका छाडेर सिधै भारत प्रस्थान गरी अभ्यासमा जुट्ने क्यानले बताएको छ।

