काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको र एक अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। बैंकले सार्वजनिक गरेको यो अपरिस्कृत विवरण हो।
बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह गरिँदै आएको जानकारी दिए। “हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवर्द्धन तथा विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, जसले समग्र अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ,” उनले भने।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक नवीन सोच र दृढ सङ्कल्पका साथ वित्तीय सेवा प्रवाह गर्दै आएको बताए। कर्जा प्रवाह बढाउनु चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले बैंकको पुँजी आधार सुदृढ गर्न तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार हाल बैंकसँग कर्जा–निक्षेप अनुपातका आधारमा एक खर्ब ७१ अर्ब रुपैयाँ र तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहे पनि पुँजी पर्याप्तताका कारण थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सकिने अवस्था छ।
कार्यक्रममा दिइएको विवरणअनुसार बैंकले हाल निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल पाँच खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

