काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानअनुसार आयोगले उक्त विवरण सार्वजनिक गरेको हो।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम मनोनयनपत्रसँगै पेस गरेका वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको जनाएको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको जानकारी दिए।
उनका अनुसार यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ। सोही उद्देश्यअनुसार उम्मेदवारहरूको विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रबाट कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न गरिएको थियो।
कुल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, तीन सय ९६ जना महिला तथा अन्य एक जना रहेको निर्वाचन आयोगले जनाएको छ।

