काठमाडौँ, कार्तिक २ । ग्लोबल आइएमई बैंक लिमिटेडले पुनः अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। अमेरिकी म्यागाजिन ग्लोबल फाइनान्सले यस वर्षका लागि पनि बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक (Best Bank–2025)’ घोषित गर्दै प्रतिष्ठित बेष्ट बैंक अवार्ड–२०२५ प्रदान गरेको हो।
शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरे।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध, व्यावसायिकता र ग्राहकमैत्री सेवाका आधारमा ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई नेपालकै उत्कृष्ट बैंकको रूपमा छनोट गरेको हो। यससँगै बैंकले लगातार दुई वर्ष — २०२४ र २०२५ — ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड जित्न सफल भएको हो।
बैंकका अध्यक्ष ढकालले सम्मानले संस्थालाई अझ सशक्त, पारदर्शी र नवप्रवर्तनशील सेवातर्फ अघि बढ्ने प्रेरणा दिएको बताए। उनले नेपाल सरकार, राष्ट्र बैंक, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार प्रकट गरेका छन्।
ग्लोबल फाइनान्सले यस वर्ष विश्वका विभिन्न क्षेत्रका उत्कृष्ट बैंकहरुलाई समेत सम्मान गरेको छ, जसमा हङकङको HSBC, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेसियाको UOB मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको SMBC समेत रहेका छन्।
ग्लोबल आइएमई बैंकले हाल देशभर ३५२ शाखा, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा केन्द्र र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले विश्वका दर्जनौं मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै लाखौं ग्राहकलाई वित्तीय पहुँचमा जोड्ने काम गरेको छ।

