काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचनबारे महत्वपूर्ण छलफल गर्ने कार्यसूचि छ ।
छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। सरकारको प्रमुख कार्यभार निर्वाचन सम्पन्न गराउने रहेकाले बैठकलाई आगामी राजनीतिक दिशा निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ।
संवाद स्थापना गर्ने प्रयास
सरकारले पछिल्ला दिनमा दलहरूसँग संवाद अभावका कारण आलोचना खेप्दै आईरहेको छ । यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त प्रमुख सात दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेकी हुन्।
छलफलमा सहभागी दलहरूबाट सरकारको निर्वाचन तयारी, कानुनी तथा सुरक्षात्मक वातावरण र राजनीतिक सहमतिको निर्माण लगायत आवश्यक छलफलका लागि बैठक डाकिएको हो ।
एमालेदेखि जसपा, राप्रपासम्म सात दल सहभागी, को को छन् प्रतिनिधि ?
सरकारले हरेक दललाई दुई–दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरेको छ।
नेकपा (एमाले) का तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली सहभागी हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावमा गम्भीर नभएको आरोप लगाए पनि छलफलमा उपस्थित हुने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छलफलमा सहभागी हुने बताउँदै शान्ति–सुरक्षाको अवस्था र निर्वाचन तयारीलाई मुख्य एजेन्डा बनाउने बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले सरकारका गतिविधिप्रति केही आशंका रहे पनि संवादमा सहभागी हुने बताए।
त्यस्तै, रास्वपाका तर्फबाट उपसभापति स्वर्णीम वाग्ले, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका प्रवक्ता मनिष सुमन र जनमत पार्टीका महासचिव चन्दन सिंह छलफलमा सहभागी हुने भएका छन्।
निर्वाचनको वातावरणबारे अन्योल
सरकारले निर्वाचनको वातावरण तयार नगरेको भन्दै प्रमुख दलहरू असन्तुष्ट छन्। दलहरूबीचको आपसी अविश्वास र निर्वाचन मितिप्रति अनिश्चितता कायमै रहेकाले आजको छलफलबाट ठोस सहमति ननिस्किएसम्म निर्वाचन तोकिएकै मितिमा हुने/नहुनेबारे अन्योल कायमै रहने देखिन्छ।
नेकपा एमाले संसद पुनस्र्थापनाकै पक्षमा उभिएको छ भने अन्य राजनीतिक दलहरू निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन् । आन्तरिक रुपमा भने जेन-जी आन्दोलन पछि फेरिएको परिवेशमा निर्वाचनमा जान डराईरहेका छन् ।

