काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि असोज मसान्तसम्म ३११ वटा उद्योगमा कुल ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो।
यस अवधिमा ७ वटा ठूला, ४ वटा मध्यम, र ३०० वटा साना उद्योगहरूमा वैदेशिक लगानी प्रतिबद्धता दर्ता भएको विभागले जनाएको छ।
केवल असोज महिनामा मात्रै ७५ वटा साना उद्योगमा रु २ अर्ब ४ करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार हालसम्म ७ हजार ५५० वटा उद्योगमा जम्मा रु ६ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भइसकेको छ।
साउनदेखि असोजसम्मको लगानी विवरण हेर्दा संख्याका आधारमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रका १६२ वटा उद्योगमा लगानी प्रतिबद्धता भएको छ, जसको रकम रु १५ करोड ३७ लाख ३२ हजार बराबर छ। रकमका आधारमा पर्यटन क्षेत्र अगाडि रहेको छ, जहाँ १०३ वटा उद्योगमा रु १ अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ।
त्यसपछि उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा रु २१ करोड १० लाख,
कृषि क्षेत्रका ११ उद्योगमा रु ४ करोड र सेवा क्षेत्रका १९ उद्योगमा रु १८ करोड १० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
उद्योग विभागका अधिकारीहरूले नेपालको लगानी वातावरण सुधार, नीतिगत स्थायित्व र प्रविधिमैत्री सुधारका कारण विदेशी लगानीकर्ताको रुचि क्रमशः बढ्दै गएको बताएका छन्। अर्को तर्फ भर्खर सम्पन्न जेन-जी विद्रोह, उद्योग-कलकार्खाना, होटल व्यवसाय एवम् स्थानीय निकायमा भएको तोडफोड एवम् क्षतिले प्राप्त लगानी प्रतिवद्धता के, कति सार्थक रुपमा हुने भन्ने प्रश्न उब्जिएको छ । लगानीकर्ता लगानी गर्न डराईरहेको अवस्था समेत देखिदा चिन्ता गर्नुपर्ने अवस्था आएको विश्लेषण आर्थिक क्षेत्रका जानकारको छ ।

